Pardehshilife

यूवाहरुलाई उधमी बनाउन एन आर एन कोरिया र राष्ट्रिय युवा परिषद विच एमओयू सम्पन्न

‘सीपमूलक तालिमका लागि नेपाली युवालाई दक्षिण कोरिया लगिने’

काठमाडौं- युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको ‘राष्ट्रिय युवा परिषद्’ र एनआरएनए दक्षिण कोरिया शाखाबीच युवाहरुलाई उद्यमी बनाउन सीपमूलक तालिम उपलब्ध गराउन ‘एमओयू’मा हस्ताक्षर भएको छ।

सानो ठिमीस्थित राष्ट्रिय युवा परिषद्‌को कार्यालयमा भएको एमओयूमा सीपमार्फत युवाहरुलाई आत्मनिर्भर बनाउन दुई पक्ष सहमत भएको उल्लेख छ। उद्यम क्षेत्रमा काम गर्न इच्छुक र योग्य युवाहरुलाई कोरिया पठाएर प्रविधियुक्त सीप प्रदान गर्ने सहझदारी भएको छ।

युवाहरुलाई निश्चित मापदण्ड पूरा गरी युवा परिषद्‌ले कोरिया पठाउन सहजीकरण गर्नेछ। कोरिया गएका युवाहरुलाई तालिम उपलब्ध गराउन त्यहाँस्थित गैर आवासीय नेपाली संघले जिम्मेवारी लिनेछ।

तालिम प्राप्त युवालाई आवश्यक सेवा, सुविधा, सुरक्षाका लागि वित्तीय संयन्त्रको समन्वय युवा परिषद्‌ले गर्नेछ। व्यावसायिक कार्य गर्न इच्छुक युवाहरुलाई कोरियामा तालिम प्रदान गर्ने र नेपालमा तालिम उपलब्ध गराउनु परे त्यसको आवश्यक समन्वय एआरएनए कोरिया शाखाले गर्नेछ। युवा परिषद्‌ले छनोट गरेका युवाहरुको भिसा प्राप्तिमा समन्वय पनि एनआरआएनए कोरियाले नै गर्नेछ।

आवश्यक तालिमपछि जीवन निर्वाहको व्यवस्था भएका युवाहरुलाई स्वदेश फर्काउन दुवै पक्षको उत्तिकै दायित्व हुने समझदारी पत्रमा उल्लेख छ। राष्ट्रिय युवा परिषद्‌का प्रशासकीय प्रमुख डा बाबुराम ढुङ्गाना र एनआरएनए कोरिया शाखाका अध्यक्ष यज्ञराज सुवेदीद्धारा हस्ताक्षरित एमओयूको अवधि दुई वर्ष हुने जनाइएको छ। दुवै पक्षको सहमतिमा समयावधि पुनः थप्न सकिने समेत एमओयूमा उल्लेख छ।

कोरियाको किमे सहरस्थित किमे माइग्रेन्ट सेन्टरले कामका लागि कोरिया गएका कामदारहरुलाई विभिन्न सीपहरु उपलब्ध गराउँदै आएको छ। स्थानीय नगरपालिकासँगको समन्वयमा कृषिका साथै सेवामूलक सीप युवाहरुले प्राप्त गरेका छन्। विदेशी कामदारहरुमा नेपालीलाई उच्च महत्व दिइएको एनआएएनए कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले बताए।

उनले भने, ‘प्रविधियुक्त सीप सिकाउनका लागि कोरिया सरकारले नेपाली युवाकै लागि बजेट विनियोजन गरेको पहिलो घटना हो।’ कोरियाका राष्ट्रपति मुन्जे इनसँग समधुर सम्बन्ध भएका सुवेदीले संघीय सरकारसँग आग्रह गरी धेरै युवाहरुलाई सीप प्रदान गर्न सकिने बताए।

युवा परिषद्‌का प्रशासकीय प्रमुख ढुङ्गानाले कुरा भन्दा काम गर्नेगरी एमओयू भएको दावी गरे। कोरियाबाट सुवेदीको पहलमा प्रविधियुक्त सीप पाउने युवा बढ्दै गएकाले त्यसलाई सरकारसँग जोड्न चाहेको उनको भनाइ थियो।

युवा परिषद्‌का उपाध्यक्ष माधव ढुङ्गेलले एनआरएनएको केन्द्रीय कार्यसमितिसँग पटक-पटक भएका छलफलले मूर्तरुप नपाएको गुनासो गरे। उनले भने, ‘कोरियाको सन्दर्भ फरक रहेकाले एनआरएनएको च्याप्टर देशसँग एमओयू गर्न लागेका हौं।’ ढुङ्गेलले ६ महिनाभित्रै देखिनेगरी ठोस कार्य गर्न दुवै पक्षको तदारुकता बढाउन अनुरोध गरे।

आवश्यक मापदण्ड पूरा गरी कोरिया गएका युवाले बढीमा ३ महिना सीपयुक्त कक्षा पाउनेछन्। सीपका लागि गएका युवाले तीन महिनाको कक्षा अवधि सकिएपछि नेपाल फर्कने सुनिश्चिता गर्नुपर्नेछ। प्राप्त ज्ञानका आधारमा उद्यम गर्न चाहने युवालाई बैंक ऋण, काननुी प्रक्रिया, औजार लगायतका क्षेत्रमा दुवै पक्षले सहजीकरण गर्नेछन्।

एनआरएनए कोरियाका वरिष्ठ उपाध्यक्ष दीपक पुनले विगतका एनआरएनको कार्यसमितिभन्दा यसपटक भिन्न तरिकाले अघि बढ्न चाहेको भनाइ राखे।

साभार ः नेपाल लाईभ

सम्बन्धित समाचार

लोड हुदै....